१८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतान्त्रिक प्रणाली नमान्नेहरुले संसदमा अवरोध गरिरहेको बताएका छन् ।
पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठद्वारा लिखित ‘लोकतन्त्र र जनअभिमतः नेपालको निर्वाचन इतिहास’ पुस्तकको आइतबार लोकार्पण गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाका बैठकहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीको लगातारको अवरोध र बहिष्कारलाई संकेत गर्दै संविधान र कानुनभित्र रहेर स्वतन्त्रपूर्वक आफ्ना कुरा राख्न पाएको अवस्थामा पनि व्यवस्थाभित्रै छिरेर व्यवस्थाविरुद्ध नै आगो लगाउन खोज्ने प्रवृत्ति गलत भएको टिप्पणी गरेका थिए ।
प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणाली आफैंमा गलत नभएको तर यसलाई कार्यान्वयन गर्ने प्रक्रियाका सन्दर्भमा कतिपय गलत प्रवृत्ति रहेकाले प्रक्रियामा देखिएका कमीकमजोरी सुधार्नुपर्ने बताएका छन्। नेपालको निर्वाचन प्रणाली खर्चिलो भएको र उम्मेदवारहरुले सीमा भन्दा बढी खर्च गर्ने गरेको सन्दर्भमा वक्ताहरुले गरेका टिप्पणीको प्रतिवाद गर्दै प्रधानमन्त्री ओलीले आफ्नो अनुभवमा त्यस्तो नभएको स्पष्ट पारेका थिए ।
उनले आफू विगतमा गृहमन्त्री र प्रधानमन्त्री हुँदा पनि स्वच्छ निर्वाचन व्यवस्थापनका लागि निर्वाचन आयोग लगायत निकायलाई कुनै हस्तक्षेप नगरेको स्मरण समेत गरेका छन् ।





