अन्तर्राष्ट्रिय

पाकिस्तानमा पहिरोमा परी ८ जनाको मृत्यु, ४ घाइते

२६ साउन, एजेन्सी । पाकिस्तानमा सोमबार पहिरोमा परी ८ जनाको मृत्यु भएको छ ।

सोही पहिरोमा परी ४ जना घाइते भएको स्थानीय प्रहरीले बताएको हो। स्वयंसेवकहरूको समूह देशको गिलगिट–बाल्टिस्तानको गिलगिटको डान्योर नामक बाढी प्रभावित खोलाको जीर्णोद्धार गरिरहेको अवस्थामा घटना भएको प्रहरीले बताएको छ ।

उनीहरु यस अघि बाढीबाट क्षतिग्रस्त भएको संरचना मर्मत गर्ने सामुदायिक टोली भएको उल्लेख गरिएको छ । काम गरिरहेको अवस्थामा पहाडबाट माटो र चट्टानहरू अचानक झरेपछि अधिकांश मानिसहरू भग्नावशेषमुनि पुरिएको प्रहरीले बताएको हो ।

उद्धार टोली, प्रहरी र स्थानीयहरूले घटनास्थलबाट ८ वटा शव र ४ जना घाइतेलाई भग्नावशेषबाट बाहिर निकाल्न सफल भएको प्रहरीले बताएको छ । उनीहरुलाई नजिकैको अस्पतालमा लगिएको र घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको हो । केही व्यक्तहरु पहिरोमा फसेको आशंकामा खोजी अभियान जारी रहेको र पहिरो प्रभावित क्षेत्रमा सुरक्षित रहन सर्वसाधारणलाई चेतावनी जारी गरेको प्रहरीको भनाइ छ ।

गिलगिट–बाल्टिस्तानका मुख्यमन्त्री हाजी गुलबर खानले उक्त घटनाप्रति गहिरो शोक व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका थिए । उनले एक विज्ञप्ति जारी गर्दै क्षतिग्रस्त संरचना निर्माणमा तल्लिन साहसी स्वयंसेवकहरूको बलिदानलाई सधैं स्मरण गरिने बताएका छन् ।

दुःखको समयमा सरकार उनीहरुको परिवारको साथमा रहेको समेत उनले उल्लेख गरेका हुन् ।