राजनीति

पार्टीसम्बद्ध प्रतिष्ठान र फाउन्डेशन पार्टी विपरीत प्रयोग हुनुहुँदैनः प्रधानमन्त्री ओली

२६ साउन, ललितपुर । प्रधानमन्त्री एवं नेकपाएमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीसम्बद्ध प्रतिष्ठान र फाउन्डेशन व्यक्तिगत स्वार्थमा नभएर पार्टीको आन्दोलन र समग्र हितमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

मदन–आश्रित स्मृति प्रतिष्ठानको नवनिर्वाचित अध्यक्ष प्रदीपकुमार ज्ञवालीको शपथ ग्रहण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले स्थापित नेताको सम्मानमा खोलिएका र पार्टीसँग जोडिएका प्रतिष्ठान र संस्थाहरु ठगी खाने भाँडो हुन नहुने स्पष्ट पारेका छन् ।

उनले भनेका छन्,-‘मदन–आश्रित स्मृति प्रतिष्ठान तत्कालीन महासचिव मदनकुमार भण्डारी र तत्कालीन सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधनपछिको शोकको घडीमा जनताको बहुललीय जनवाद (जबज)को वैचारिकतालाई अगाडि बढाउन २०५० जेठ ९ गतेको पार्टी निर्णयबाट खोलिएको हो । पछि पार्टीले मदन जयन्ती मनाउने सन्दर्भमा पनि पर्याप्त ध्यान नदिएको अवस्थामा व्यक्तिगत आधारमा मदन भण्डारी फाउन्डेशन खोलिएको थियो । अहिले फाउन्डेशन गतिविधि र यसको नेतृत्वले आन्दोलनप्रति निष्ठा देखाउन छाडेको छ । यस्ता संस्थाहरु पार्टीसँग निष्ठावान हुनुपर्छ । पार्टी हित विपरीत प्रयोग हुनुहुँदैन ।’

प्रधानमन्त्री ओलीले सामाजिक अध्ययन, व्यक्तिको गुणवत्ता, निष्ठा र ज्ञानको विकासका साथै मानवीय चेतना र अनुशासन वृद्धिमा काम गर्न प्रतिष्ठानको नयाँ नेतृत्वलाई आग्रह गरेका छन् । प्रतिष्ठानका तत्कालीन अध्यक्ष प्रदीप नेपालको गत वैशाख २३ गते निधन भएकाले प्रतिष्ठानको यहि साउन २३ गतेको ३१औं साधारणसभाबाट नेकपा एमालेका उपमहासचिव ज्ञवालीलाई अध्यक्ष निर्वाचित गरिएको थियो ।