समाचार

वीरगञ्ज नाका हुँदै २६ अर्बको पेट्रोलियम पदार्थ आयात

७ असोज, वीरगञ्ज (पर्सा) । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२र८३ को दुई महिनामा २६ अर्ब ३३ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । सो अवधिमा डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात गरिएको हो ।

गत आवको दुई महिनाको तुलनामा चालु आवको दुई महिनामा उक्त नाका हुँदै एक अर्ब ७६ करोड बढीको पेट्रोलियम पदार्थ आयात गरिएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए । सो अवधिमा आयात बढेसँगै एक अर्ब २९ करोड बढी राजस्व समेत सङ्कलन भएको छ । “यहाँको राजस्वको मुख्य आधार पेट्रोलियम पदार्थ र सवारीसाधन आयात हो”, प्रमुख भन्सार प्रशासक ज्ञवालीले भने। गत आवको दुई महिनाको अवधिमा पेट्रोलियम पदार्थ आयातबाट कार्यालयले नौ अर्ब ८९ करोड राजस्व सङ्कलन गरेको थियो । त्यस्तै चालु आवको दुई महिनामा पेट्रोलियम पदार्थबाट ११ अर्ब १८ करोड सङ्कलन गरेको छ । चालु आवको दुई महिनामा ११ अर्ब ९१ करोडको एक लाख ३२ हजार आठ सय २४ किलोलिटर डिजेल आयात गरिँदा रु पाँच अर्ब २८ करोड राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा १० अर्ब ४५ करोड मूल्यको डिजेल आयात हुँदा चार अर्ब ५१ करोड राजस्व सङ्कलन भएको प्रमुख भन्सार प्रशासक ज्ञवालीले बताए । चालु आवको दुई महिनामा ६ अर्ब ८२ करोडको ८० हजार पाँच सय ६० किलोलिटर पेट्रोल आयात हुँदा कार्यालयले चार अर्ब ५४ करोड राजस्व सङ्कलन गरेको छ । गत आवको सोही अवधिमा भने ६ अर्ब ४० करोडको ६९ हजार ६ सय ४७ किलोलिटर पेट्रोल आयात हुँदा रु तीन अर्ब ९९ करोड राजस्व सङकलन भएको थियो । त्यस्तै चालु आवको दुई महिनामा पाँच अर्ब १२ करोडको चार करोड ९५ लाख ६६ हजार ६ सय ६४ किलो एलपी ग्याँस आयात हुँदा ९६ करोड राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा भने रु पाँच अर्ब ३६ करोडको चार करोड ९७ लाख ५५ हजार एक सय ९४ किलो एलपी ग्याँस आयात हुँदा एक अर्ब राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।