१९ असोज, काठमाडौँ । यही असोज १७ र १८ गतेको अविरल वर्षासँगै देशका विभिन्न नदीनालाको बाढीबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका करोडौँका संरचनामा क्षति भएको प्रारम्भिक छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आज पत्रकार सम्मेलनमा दिनुभएको जानकारीअनुसार मुलुकका विभिन्न भागमा एक हजार ५०० मिटर तटबन्ध कटान हुँदा रु १० करोड बारबरको क्षति भएको छ । कन्काइले गौरीगञ्ज–२ झापामा हुलाकी राजमार्गको तल्लोतटीय दायाँ किनारमा करिब २०० मिटर तटबन्धन कटान गरी होक्लबारी गाउँका करिब ११४ घर डुबाएको छ । त्यहाँको ५०० हेक्टर धान खेतमा क्षति साथै झापा गाउँपालिका– २ को कुवाडीमा २०० मिटर तटबन्ध कटान हुँदा ७५ लाखको क्षति भएको छ । यसैगरी, मेची नदीले ठाउँठाउँमा रहेको स्परमा करिब ५० लाख, विराटनगरस्थित केशलिया नदीमा डुबान भई ७५ घर स्थानान्तरण, कमला नदीको पूर्वी किनार सिरहा १७ पटेरुवाको तटबन्धमा करिब २५ लाख बराबरको क्षति भएको छ । रौतहटमा लालबकैया नदीको दायाँ किनारमा करिब ६० मिटर तटबन्ध बगाई करिब १०० हेक्टर धान खेत र बौदीमाई गाउँमा करिब १२० मिटर तटबन्ध बगाई २०० हेक्टर धान तथा घरगोठ डुबान हुँदा ६० लाख बराबरको क्षति भएको छ । महोत्तरीमा रातो नदीले तटबन्ध बगाउँदा आठ करोड बराबरको क्षति भएको छ । सिँचाइ प्रणालीको बाँध क्षेत्रमा नदीमा आएको बाढीलाई सुरक्षित तवरले नदीमा फर्काउन हेड रेगुलेटर, मूल नहर र शाखा नहरका गेट समयमा नै खोलिएकाले सिँचाइ प्रणालीमा धेरै क्षति नभएको मन्त्री घिसिङले बताए । सुनकोशीको बाढीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गतको निर्माणाधीन बाँधस्थल डुबेको छ ।





