समाचार

अमेरिकाबाट देश निकाला भएका थापा रास्वपाको बैठकमा सहभागी

२२ कात्तिक, काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वकेन्द्रीय सदस्य मोहन थापा चितवनमा भइरहेको रास्वपाको विस्तारित बैठकमा सहभागी भएका छन्।

गत साउनमा अमेरिकाबाट देश निकाला भएका थापा गत वर्ष फागुनमा अमेरिकामा पक्राउ परेका थिए। उनलाई गैरकानुनी गतिविधिमा संलग्न भएको आरोपमा अमेरिकाको इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।

अनुसन्धानका क्रममा थापामाथि अध्यागमनसम्बन्धी कानुन उल्लंघन लगायतका आरोप लगाइएको थियो। डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकाले गैरकानुनी रुपमा बसोबास गर्दै आएका विदेशी नागरिकलाई देश निकाला गर्ने अभियान सुरू गरेको थियो, जसअन्तर्गत थापा पनि स्वदेश फर्कन बाध्य भएका थिए।