काठमाडौं, कार्तिक २२, २०८२ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री र रौतहटका पूर्व जिल्ला सभापति मोहम्मद आफ्ताव आलमको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको आकस्मिक बैठकले आलमको निधनलाई पार्टीका लागि अपूरणीय क्षति भएको बताएको छ।
६३ वर्षीय आलम गत राति काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा निधन भएका थिए। वि.सं. २०१९ असार ५ गते रौतहटको राजपुर फरहदवा गाउँमा जन्मेका आलमले वि.सं. २०३६ देखि नेपाल विद्यार्थी संघमार्फत राजनीतिक यात्रा सुरु गरेका थिए। उनी वि.सं. २०५३, २०५६, २०६४ र २०७४ को विभिन्न निर्वाचनमा रौतहट क्षेत्र नं. २ बाट विजयी भएका थिए।
आलमले लोकतन्त्र स्थापना र पुनर्स्थापनाका आन्दोलनमा सक्रिय भूमिका निभाएका थिए र पार्टीको विभिन्न पदीय जिम्मेवारी सम्हाल्दै संगठन निर्माणमा योगदान पुर्याएका थिए।
केन्द्रीय कार्यसमितिले आलमको आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गर्ने निर्णय गरेको छ। साथै, पार्टीको केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने, कार्तिक २३ गते कार्यालय बन्द गर्ने, १३ दिनसम्म शोक पुस्तिका राख्ने र सम्बन्धित जिल्लामा शोक सभा आयोजना गर्ने कार्यक्रम निर्धारण गरिएको छ।






