२५ कात्तिक, जनकपुरधाम । हिजो मात्रै विवादित रूपमा नियुक्त भएका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव आज पत्रकार सम्मेलन गर्दैछन् । बिहान ११ बजे जनकपुरको जानके चार होटलमा आयोजना हुने पत्रकार सम्मेलनमा उनले पछिल्ला राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गर्नेछन् ।
मुख्यमन्त्रीको सचिवालयका रन्जित सिंहका अनुसार यादवले प्रदेशमा देखिएका विवाद र आफूलाई मुख्यमन्त्री बनाउने प्रक्रिया सम्बन्धी विषयमा प्रतिक्रिया दिने तयारी गरेका छन् ।
संविधानको धारा १६८(३) अनुसार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आइतबार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । तर, दलहरूलाई छलेर गरिएको नियुक्ति भन्दै यसबारे चर्को विवाद उठेको छ ।
प्रदेश प्रमुख भण्डारी सोमबार बिहान बिरामी रहेको कारण देखाउँदै काठमाडौं प्रस्थान गरेकी थिइन् । उनी उपचारका क्रममा महोत्तरीको बर्दिबासस्थित पानस होटलमा पुगेर त्यहीँ यादवलाई शपथ ग्रहण गराएकी थिइन् । उक्त घटनापछि मधेश भवनमा तनावपूर्ण अवस्था सिर्जना भएको छ ।





