२५ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनलाई ध्यानमा राख्दै मतदाता नामावली दर्ताका लागि सबै पात्र नागरिकलाई अपिल गरेको छ।
आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार २०८२ साल फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने सबै नागरिकले नाम दर्ता गर्न आग्रह गरिएको हो।
सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न आयोगले भीड बढी रहेका जिल्लाहरूमा दैनिक १२ घण्टा—दुई सिफ्टमा सेवा सञ्चालन गर्ने निर्णय गरेको छ। काठमाडौं उपत्यकाका तीन जिल्लामा राष्ट्रिय परिचयपत्र विभागबाट १४ जना अतिरिक्त कर्मचारी खटाइने भएको छ।
अन्य जिल्लामा पनि सेवाग्राहीको चाप अनुसार थप जनशक्ति पठाउन गृह मन्त्रालयलाई पत्राचार गरिएको आयोगले जनाएको छ।






