८ मंसिर, काठमाडौं । जेनजी युवा नेता रक्षा बमले प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई तत्काल पदमुक्त गर्न माग गरेकी छन्। उनले श्रेष्ठले पदको दुरुपयोग गर्दै आफ्नै परिवारका सदस्य र नातेदारलाई प्रधानमन्त्री सचिवालयमा नियुक्त गराएको आरोप लगाएकी छन्। बमले सामाजिक सञ्जालमार्फत नातावाद, कृपावाद र नैतिक भ्रष्टाचार को सवालमा सरकार गम्भीर हुनुपर्ने बताइन्।
रक्षा बमले लेखेकी छन्, “संवेदनशील अवस्थामा बनेको नागरिक सरकारको फाइदा उठाउँदै प्रमुख स्वकीय सचिवले नातावादलाई हाबी गराउन खोज्नु परिवर्तनका लागि बगेको रगतको अपमान हो।”
उनका अनुसार जेनजी विद्रोह केवल आर्थिक भ्रष्टाचारको विरुद्ध मात्र होइन, नैतिक भ्रष्टाचार, नातावाद र कृपावादको विरुद्ध पनि थियो।
उनी भन्छिन्, “भदौ २३ को आन्दोलन पारदर्शिता र जवाफदेहिताका पक्षमा थियो। तर अहिले प्रमुख स्वकीय सचिवले आफ्नी श्रीमतीसहित नातेदारलाई विद्रोहकै बलमा जागिर लगाएको काम पूर्ण रूपमा गलत छ।”
रक्षा बमले अन्त्यमा आदर्श कुमार श्रेष्ठलाई पदमुक्त गर्न र दिएका पारिवारिक नियुक्ति तुरुन्तै खारेज गर्न सरकारसँग माग गरेकी छन्। “नागरिक सरकार सीमित व्यक्तिहरूको चंगुलमा पर्नु हुँदैन, सरकारले बेलैमा सचेत हुनुपर्छ।” भन्दै चेतावनी दिँदै भनेकी छन्।





