राजनीति

एमालेले प्रतिनिधि सभाका लागि दल दर्ता गर्‍यो

८ मंसिर, काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ। निर्वाचन आयोग पुगेर निर्वाचन विभागका प्रमुख निरज आचार्य र कार्यालय सचिव डा. भीष्म अधिकारीले दल दर्ताको निवेदन पेश गरेका हुन्।

निर्वाचन विभागका प्रमुख आचार्यका अनुसार, एमाले सबै प्रकारका चुनावमा कानूनी प्रक्रिया पूरा गरेर बस्ने पार्टी भएकोले प्रतिनिधि सभाको निर्वाचनका लागि दल दर्ता गरिएको हो।

प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने अन्तिम म्याद यही मंसिर १० गतेसम्म कायम छ। सोमबारसम्म ६४ दलले निर्वाचन प्रयोजनका लागि दर्ता गरिसकेका थिए भने एमाले ६६ नम्बरमा दर्ता भएको छ।

आचार्यले भने, “निर्वाचन जहिले भए पनि हामी तयार छौँ, त्यसै अनुसार दल दर्ता गरिएको हो।” निर्वाचन आयोगमा हालसम्म दर्ता भएका दलको संख्या १३५ पुगेको छ। यसमध्ये जुन-जुन दलले निर्वाचन प्रयोजनका लागि दर्ता गर्छन्, उनीहरूले मात्र निर्वाचनमा भाग लिन पाउनेछन्।