समाचार

प्रतिनिधिसभा निर्वाचनका लागि राप्रपाको दल दर्ता सम्पन्न

९ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ। पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार आयोगले तोकेको समयसीमाभित्र दल दर्ता प्रक्रिया पूरा गरिएको हो।

निर्वाचन आयोगले भोलि (बुधबार) सम्मका लागि दल दर्ताको अवधि खुला गरेको छ। सो अवधि अन्तर्गत हालसम्म ६२ भन्दा बढी दल दर्ता भइसकेका आयोग स्रोतले जनाएको छ।

राप्रपाले दल दर्तासँगै वर्तमान राजनीतिक अवस्थाले मुलुकलाई स्थिरतामा डोर्याउन नसक्ने टिप्पणी पनि गरेको छ। प्रवक्ता श्रेष्ठले जिम्मेवार प्रजातान्त्रिक दलका रूपमा निर्वाचन प्रक्रियाबाट अलग हुन उचित नहुने भन्दै निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिएको स्पष्ट पारे।

उनका अनुसार प्रजातान्त्रिक बाटोमार्फत परिवर्तन सम्भव हुने भएकाले राप्रपा आगामी निर्वाचनमा सक्रिय सहभागिता जनाउनेछ।