ब्रेकिङ न्युज

जागिर जोगाउन अर्थ मन्त्रालयको गेटमै उत्रिए अस्थायी र करार कर्मचारी

३० असार, काठमाडौं । सेवा निरन्तरताको माग गर्दै अस्थायी र करारका कर्मचारीहरूले मंगलबार अर्थ मन्त्रालय अगाडि धर्ना दिएका छन्। सरकारले उनीहरूको सट्टा आउटसोर्सिङमार्फत कर्मचारी व्यवस्थापन गर्ने तयारी थालेपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

वर्षौंदेखि विभिन्न मन्त्रालयमा अस्थायी र करार सेवामा कार्यरत कर्मचारीहरू अर्थ मन्त्रालयको मूल प्रवेशद्वारमा भेला भएर प्रदर्शन गर्दै सरकारको निर्णय फिर्ता लिन माग गरेका छन्। उनीहरूले नाराबाजी गर्दै आफूहरूको रोजगारी सुरक्षित गर्नुपर्ने बताएका छन्।

सरकारले सार्वजनिक खर्च घटाउने नीति अन्तर्गत अस्थायी र करारका कर्मचारीको संख्या घटाएर आउटसोर्सिङ प्रणाली लागू गर्ने तयारी गरिरहेको छ। यही निर्णयको विरोधमा कर्मचारीहरूले आन्दोलन सुरु गरेका हुन्।

आन्दोलनरत कर्मचारीहरूले लामो समयदेखि सेवा दिँदै आएका कर्मचारीलाई हटाउनु अन्यायपूर्ण हुने भन्दै सेवा निरन्तरताको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन्।