ब्रेकिङ न्युज

‘यो अस्वाभाविक घटना हो, दोषीलाई उन्मुक्ति हुँदैन’ : रवि

३० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमको कार्यालयको प्रवेशद्वार अवरुद्ध हुने गरी पार्किङ गरिएका गाडीको घटनालाई अस्वाभाविक भन्दै निष्पक्ष छानबिन र दोषीमाथि कारबाही हुनुपर्ने बताएका छन्।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीले यस विषयमा यसअघि नै विज्ञप्तिमार्फत आफ्नो स्पष्ट धारणा सार्वजनिक गरिसकेको र त्यसबाट पछि नहट्ने बताए। उनका अनुसार घटनाको गम्भीर छानबिन गरी जिम्मेवार जोसुकै भए पनि कानुनी कारबाही हुनुपर्छ।

रास्वपाकै कार्यकर्ता संलग्न भए पनि कारबाही हुन्छ कि हुँदैन भन्ने प्रश्नमा लामिछानेले पार्टी कसैलाई पनि संरक्षण गर्ने पक्षमा नरहेको स्पष्ट पारे। उनले रास्वपाले विगतमा आफ्नै सांसदमाथि पनि छोटो समयमै कारबाही गरेको उदाहरण दिँदै कानुनभन्दा माथि कोही नहुने बताए।

लामिछानेले उक्त घटनालाई सामान्य रूपमा लिन नमिल्ने उल्लेख गर्दै पार्टीको आधिकारिक धारणा यही रहेको दोहोर्‍याए।

यसैबीच उनले हालै प्रधानमन्त्रीसँग भएको भेटमा सुकुमवासी समस्या समाधानका उपाय, समसामयिक राष्ट्रिय राजनीति तथा आगामी परिस्थितिबारे पनि परिणाममुखी छलफल भएको जानकारी दिए।