बाग्मती

ऊर्जामन्त्री घिसिङद्वारा निर्माणाधीन भरतपुर सभागृहको निरीक्षण

४ पुस, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले चितवनमा निर्माणाधीन भरतपुर सभागृहको आज निरीक्षण गरेको छ ।

मन्त्री घिसिङको निजी सचिवालयका अनुसार २०७७ साल मङ्सिरमा सम्झौता भई २०७९ फागुनमा सम्पन्न गर्नेगरी निर्माण सुरु गरिएको सभागृह निर्माणकार्य सुस्त भएको पाइएपछि निर्माणाधीन सभागृहको निरीक्षण गरेको हो ।

हालसम्म ६० प्रतिशत निर्माण सम्पन्न भएको उक्त सभागृहको रुफ (छाना)को डिजाइनमा समस्या आएका कारण निर्माणकार्य करिब डेढ वर्ष अवरुद्ध भएको थियो । हाल छानाको संशोधित डिजाइन स्वीकृत भइसकेपछि निर्माणकार्य सुरु भएको छ । निर्माणकार्यको समयावधि संसोधन गरी २०८३ असार ११ सम्म थप गरिएको छ ।

निर्माण सम्झौता ८७ करोड ८८ लाख रहेको सभागृहमा दुई हजार जना क्षमताको मुख्यहल र तीन सय जना क्षमताको सहायक हलसहित सातवटा ब्लक रहनेछन् । मन्त्री घिसिङले मुख्य रूपमा रुफ संरचनाको डिजाइनमा भएको त्रुटिका कारण ढिला भएको पाइएको बताए । उनले सभागृहको छाना संरचनाको निर्माणसँगसँगै अन्य संरचना निर्माणको कार्य पनि छिटो गर्न निर्देशन दिएको छ ।