७ पुस, मियामी । रुस र युक्रेनबीच झण्डै चार वर्षदेखि जारी युद्ध अन्त्यका लागि अमेरिकाले युक्रेन र युरोपेली प्रतिनिधिहरूसँग फ्लोरिडामा गरेको वार्तालाई ‘फलदायी र रचनात्मक’ भएको जनाएको छ । ह्वाइट हाउसका विशेष दूत स्टिभ विटकफले आइतबार सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन् ।
उनका अनुसार युक्रेन, संयुक्त राज्य अमेरिका र युरोपबीच साझा रणनीतिक दृष्टिकोणमा तालमेल कायम गर्न वार्ताको आयोजना गरिएको हो । “हाम्रो साझा प्राथमिकता हिंसा रोक्नु, दीर्घकालीन सुरक्षा सुनिश्चित गर्नु र युक्रेनको पुनःउत्थान, स्थिरता तथा समृद्धिका लागि आधार तयार गर्नु हो । शान्ति केवल युद्ध अन्त्य मात्र नभई स्थिर भविष्यतर्फको सम्मानजनक मार्ग हुनुपर्छ”, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत विटकफले भने । यो पहल ट्रम्प प्रशासनले महिनौँदेखि अघि बढाउँदै आएको कूटनीतिक प्रयासको हिस्सा हो । राष्ट्रपति ट्रम्पले युद्ध अन्त्यका लागि तीव्र कूटनीतिक दबाब दिँदै आएका छन् । तर मस्को र किएभका मागहरू एकअर्कासँग मेल नखाँदा प्रक्रिया जटिल बनेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनप्रति आफ्ना अधिकतम मागमा अडिग रहने सङ्केत दिँदै आएका छन्, यद्यपि युद्धमैदानमा ठूलो क्षति व्यहोर्दै पनि रुसी सेना केही स्थानमा अगाडि बढिरहेको बताइएको छ । यसैबीच, रुससँगको वार्ता पनि जारी रहेको सङ्केत दिँदै क्रेमलिनका एक प्रतिनिधिले फ्लोरिडामा छलफल ‘रचनात्मक रूपमा अघि बढिरहेको’ बताएका छन् । रुसी दूत किरिल दिमित्रीभले शनिबार मियामीमा पत्रकारहरूसँग कुरा गर्दै छलफल निरन्तर जारी रहने जानकारी दिएका थिए । उनले विटकफ र राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुशनरसँग भेटघाट गर्नुभएको रुसी सञ्चारमाध्यमले जनाएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार टेलिग्राममार्फत कूटनीतिक प्रयासहरू तीव्र गतिमा अघि बढिरहेको र फ्लोरिडामा युक्रेनी टोलीले अमेरिकी पक्षसँग सक्रिय रूपमा काम गरिरहेको बताए । तर क्रेमलिनले युक्रेन, रुस र अमेरिका संलग्न त्रिपक्षीय वार्ता तयारी भइरहेको भन्ने दाबी अस्वीकार गरेको छ । राष्ट्रपति पुटिनका विदेश मामिला सल्लाहकार युरी उसाकोभले हाल यस्तो पहल गम्भीर रूपमा छलफलमा नरहेको स्पष्ट पारेका छन् । युक्रेनभित्रै, मानव अधिकार लोकपाल दमित्रो लुबिनेट्सले रुसी सेनाले सुमी सीमा क्षेत्रबाट करिब ५० जना युक्रेनी सर्वसाधारणलाई जबरजस्ती रुसमा लगेको आरोप लगाएका छन्। उनका अनुसार ती नागरिकहरूलाई अवैध रूपमा नियन्त्रणमा लिएर रुसी भूभागमा पु¥याइएको हो । यस विषयमा उहाँनले रुसका मानव अधिकार आयुक्तसँग सम्पर्क गरी तत्काल नागरिक फिर्ता गर्न माग गरेका छन् । यसै सन्दर्भमा, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग वार्ता गर्न पुटिन इच्छुक रहेको खबरलाई फ्रान्सले स्वागत गरेको छ । म्याक्रोनको कार्यालयले युद्धविराम र शान्ति वार्ताको सम्भावना स्पष्ट भएमा संवाद उपयोगी हुने जनाएको छ । उता, युरोपेली सङ्घ (इयु) का नेताहरूले युक्रेनको सैन्य र आर्थिक आवश्यकताका लागि आगामी दुई वर्षमा ९० अर्ब युरो सहयोग प्रदान गर्ने सहमति जनाएका छन्, जसका लागि पूँजी बजारबाट ऋण लिने योजना बनाइएको छ ।




