अन्तर्राष्ट्रिय

युक्रेनबारे अमेरिकासँगको वार्तामा ‘सुस्तता’ देखिएकोे रुसको दाबी

७ पुस, मस्को । युक्रेनमा युद्ध अन्त्य गर्ने योजनालाई लिएर संयुक्त राज्य अमेरिकासँगको वार्तामा प्रगति भएको तर यो प्रगति निकै ‘ढिलो’ रहेकोले मियामीमा सप्ताहन्तमा भएको वार्ताले गतिरोध तोड्न अझै असफल भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकोफ र जारेड कुश्नरसँग छुट्टाछुट्टै वार्ताका लागि रुस र युक्रेन दुवैले वार्ताकारहरू फ्लोरिडा शहरमा पठाएपछि रूसी उपविदेशमन्त्री सर्गेई र्याबकोभले भने, “प्रगति ‘ढिलो गरी’ भइरहेको छ।”

विटकोफले दुबै पक्षसँग ‘रचनात्मक’ छलफल भइरहेको भन्दै वार्ताको प्रशंसा गरेका छन् । त्यहाँ कुनै सफलताको सङ्केत भने अझै देखिएको छैन ।

गत महिना वाशिङ्गटनले क्रेमलिनको मागलाई प्रतिध्वनित गर्ने प्रस्ताव प्रस्तुत गरेपछि यी बैठकहरू युद्ध अन्त्य गर्ने योजनालाई लिएर एक हप्ता लामो कूटनीतिक प्रयासको हिस्सा थिए।
युक्रेन र युरोपको संलग्नतापछि कागजातलाई पुनः मस्यौदा गरिएको छ । यद्यपि, सामग्री सार्वजनिक रूपमा खुला गरिएको छैन।

मस्कोले ट्रम्पसँग विशेष रूपमा सम्झौता गर्न खोज्दा युरोपको संलग्नताप्रति आक्रोशित भएको छ।

र्याबकोभले सोमबार वाशिङ्गटनलाई युरोपेली नेताहरूलाई वार्ताबाट हटाउन दबाब दिएका थिए ।

बेलायत, फ्रान्स र जर्मनीसहित धेरै युरोपेली देशहरूले यदि युद्ध अन्त्यका लागि सम्झौता भयो भने युक्रेनमा शान्ति सेना तैनाथ गर्न सक्ने बताएका छन् । रूसले यो कुरा अस्वीकार्य रहेको बताएको छ ।

महिनौंको कूटनीतिका बाबजुद किएभ र मस्कोले प्रत्यक्ष वार्ता गर्ने वा सम्झौतामा पुग्ने अझै कुनै सङ्केत छैन।