समाचार

रवि–बालेन सम्झौताप्रति हर्क साम्पाङ असन्तुष्ट

१३ पुस, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेनबीच भएको सम्झौताको तीव्र आलोचना गरेका छन् । उनले उक्त सहमति सत्ताकेन्द्रित मात्र नभई विदेशी हस्तक्षेपलाई संस्थागत गर्ने उद्देश्यले गरिएको आरोप लगाएका छन् ।

आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् भिडियो सन्देश सार्वजनिक गर्दै साम्पाङले देशको राजनीति कुर्सीको खेलमा सीमित हुँदै गएको टिप्पणी गरे । उनले विदेशी प्रभाव नेपालमा प्रत्यक्ष देखिन थालेको उल्लेख गर्दै त्यसलाई औपचारिक रूपमा स्वीकार्ने प्रयास भइरहेको दाबी गरे ।

नाम नलिई रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहतर्फ संकेत गर्दै साम्पाङले बालेनलाई जेनजी आन्दोलनका बेला मौन बसेको आरोप लगाए । देश अशान्त बन्दा पनि जिम्मेवार नेतृत्व बाहिर नआएको र लुकेर राजनीति गरिएको उनको आरोप छ ।

उनले जेनजी आन्दोलनका क्रममा युवालाई उक्साएर द्वन्द्वतर्फ धकेलिएको र त्यसबाट ठूलो क्षति भएको दाबी गर्दै यस्तो अवस्थामा नेतृत्वले जिम्मेवारी नलिएको आरोप लगाए ।

यसैक्रममा साम्पाङले एमसीसीको सन्दर्भ जोड्दै रवि लामिछानेतर्फ संकेत गर्ने टिप्पणी पनि गरेका छन् । रवि–बालेन सम्झौताप्रति सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया देखिन थालेका छन् ।