राजनीति

कांग्रेसको समानुपातिक बन्दसूचीमा किन १३ जिल्ला छुटे?

१६ पुस, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाअन्तर्गत समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा १३ जिल्लाको प्रतिनिधित्व नभएको पाइएको छ। मंगलबार बुझाइएको बन्दसूचीमा कांग्रेसले ६४ जिल्लालाई मात्र समेटेको छ।

प्रदेशगत रूपमा सबैभन्दा बढी बागमती प्रदेशका चार जिल्ला—ललितपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र चितवन बाट कसैलाई पनि उम्मेदवार बनाइएको छैन। यस्तै कोशी र गण्डकी प्रदेशका तीन–तीन, लुम्बिनीका दुई तथा कर्णालीको एक जिल्ला बन्दसूचीबाट छुटेका छन्।

मधेश र सुदूरपश्चिम प्रदेशका भने सबै जिल्लाबाट प्रतिनिधित्व भएको देखिन्छ। मधेशमा धनुषाबाट सबैभन्दा बढी ६ जना बन्दसूचीमा परेका छन् भने धनुषाबाट सिफारिस भएका डा. चन्द्रमोहन यादवको नाम दोहोरिएको छ।

सुदूरपश्चिममा कैलाली र कञ्चनपुरबाट दुई–दुई जना समावेश हुँदा बाँकी सात जिल्लाबाट एक–एक जनाको प्रतिनिधित्व गराइएको छ।