राजनीति

गृहमन्त्री अर्यालद्वारा राष्ट्रिय सहिद पार्कको अवलोकन, जेनजी सहिदसंग छलफल

१९ पुस, काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले गोकर्णेश्वरस्थित ‘राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती स्मारक’ पुग्नुभई त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएका छन् ।

आज त्यहाँ पुगेर उनले पार्कमा राखिएका सहिदको नामावली, पार्कको समग्र वस्तुस्थिति र सञ्चालनको अवधारणाबारे पार्क स्मारक समितिका अध्यक्ष सुदर्शन सिग्देलबाट जानकारी लिएका थिए त्यस अवसरमा गृहमन्त्री अर्यालले बृहत् शान्ति सम्झौतापछि घोषणा गरिएका सहिददेखि ‘जेनजी जनआन्दोलन’ पछि सहिद घोषणा भएका ४२ जना जेनजी सुशासन योद्धा र तीन अमर प्रहरीहरूको नाम पार्कमा राख्नेबारे चासो व्यक्त गरेका थिए । उनले सहिदबारे विगतका विभिन्न मन्त्रिपरिषद्ले गरेका निर्णयसहित जेनजी जनआन्दोलनका क्रममा शहादत प्राप्त युवाको समेत सोही पार्कमा नामावली राख्ने र पार्कको सञ्चालनका लागि स्मारक समितिले बुझाएको ज्ञापन पत्रलाई अध्ययन गरेर उपयुक्त निर्णय लिने बताएका थिए स्मारक पार्कका व्यस्थापन समितिका अध्यक्ष सिग्देलका अनुसार हाल उक्त पार्कमा राज्यले घोषणा गरेका दुई हजारभन्दा बढी सहिदको नामावली राखिएको छ । तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयको खारेजीसँगै सञ्चालनको स्पष्ट खाका नभएकाले हाल पार्कको सञ्चालनमा द्विविधा रहेकाले समितिले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको उनले जानकारी दिए ।