२५ पुस, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा सहभागी मन्त्रीहरूलाई कुनै पनि दलतर्फ ढल्कने छुट नभएको स्पष्ट पारेका छन् । जेनजी जनआन्दोलनपछि बनेको सरकारको प्रमुख म्यान्डेट सुशासन कायम गर्नु र तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्नु रहेको उनले बताए ।
शुक्रबार ललितपुरमा गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजित बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री अर्यालले सरकार निर्वाचन प्रक्रियामा होमिसकेको उल्लेख गर्दै तोकिएकै मितिमा निर्वाचन हुनेमा कुनै शंका नगर्न सबै पक्षलाई आग्रह गरे ।
उनले जेनजी आन्दोलन सुशासनका लागि भएको भन्दै त्यसको मर्मअनुसार सरकार जिम्मेवार ढंगले अघि बढिरहेको बताए । तोकिएको समयमा निर्वाचन हुन नसके देश संकटतर्फ जान सक्ने चेतावनी दिँदै उनले सरकारलाई हौसला प्रदान गरी मनोबल बढाउन सरोकारवाला सबै पक्षसँग आग्रह गरे ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बाँनियाले सरकारमा रहेका मन्त्रीहरूको गतिविधिले निर्वाचनको वातावरण प्रभावित हुन सक्ने भन्दै सचेत रहन आग्रह गरे । उनले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायलाई आवश्यक साधन–स्रोतले सुसज्जित बनाउनुपर्ने बताए ।
मुख्यमन्त्री बाँनियाले यसपटकको निर्वाचनमा विगतजस्तो भय र त्रासको अवस्था नरहे पनि अविश्वास कायम रहेको उल्लेख गरे । कृत्रिम बौद्धिकता, इन्टरनेट तथा सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक सूचनाले निर्वाचनमा पार्न सक्ने असरप्रति गृह मन्त्रालय र सुरक्षा निकायलाई विशेष सतर्क रहन उनले आग्रह गरे ।
सुरक्षा गोष्ठीमा प्रदेशका आन्तरिक मामिला मन्त्रीलगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।





