समाचार

गगन सभापति बनेपछि देउवा पक्ष निर्वाचन आयोगको ढोका ढकढक्याउँदै

२ माघ, काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको आधिकारिकता विवादका बीच सभापति शेरबहादुर देउवा पक्षका नेता–कार्यकर्ताको टोली बुधबार निर्वाचन आयोग पुगेको छ।

विशेष महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापति निर्वाचित भएपछि दुवै पक्षले आफू आधिकारिक रहेको दाबी गर्दै आयोगमा निवेदन दिएका छन्। सोही विवादमा आयोगले छानबिन गरिरहेका बेला देउवा पक्ष आफ्नो धारणा राख्न आयोग पुगेको हो।

नेता कल्याण गुरुङका अनुसार देउवा पक्षबाट केन्द्रीय पदाधिकारीहरू, विभिन्न जिल्ला सभापतिहरू, भातृसंस्था तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरू सहभागी थिए। उनले भने, “हामी हाम्रो पक्षका कुरा स्पष्ट पार्न निर्वाचन आयोग आएका हौँ।”

नेपाली कांग्रेसको विशेष महाधिवेशन गत पुस २७ गतेदेखि माघ १ गते बिहानसम्म काठमाडौंमा चलेको थियो, जहाँ गगन थापा सभापतिमा निर्वाचित भएका थिए। तर, परिणामलाई लिएर देउवा पक्ष असन्तुष्ट छ र दुवै पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा निवेदन दिएका छन्। आयोगले ती निवेदनमाथि अध्ययन तथा छानबिन जारी रहेको जनाएको छ।