२ माघ, काठमाडौं । रवि लामिछानेविरुद्ध दायर आरोपपत्र संशोधन गर्न स्वीकृति दिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
युवराज पौडेलले महान्यायाधिवक्ताको निर्णय संविधान र प्रचलित कानुनविपरीत रहेको दाबी गर्दै त्यसलाई बदर गर्न माग गरेका छन् । उनले उक्त निर्णय गैरकानुनी भएको भन्दै खारेजीको मागसहित सर्वोच्चमा निवेदन दिएका हुन् ।
रिट निवेदन सर्वोच्च अदालतको मुद्दा महाशाखामा दर्ता भई कर्मचारीहरूले प्रारम्भिक अध्ययन गरिरहेका छन् । निवेदक पौडेलले मुद्दा फिर्ता हुन सक्ने जोखिम रहेको भन्दै अन्तिम निर्णय नआउँदासम्म थप कामकारबाही अघि नबढाउन अन्तरिम आदेशसमेत माग गरेका छन् ।
सर्वोच्च अदालतले प्रारम्भिक अध्ययनपछि रिट दर्ता गर्ने वा नगर्ने भन्ने निर्णय गर्नेछ ।




