३ माघ, काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ तेर्सेटामा शुक्रबार राति एक छोराले आफ्नै आमाको हत्या गरेका छन्।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार २७ वर्षीय प्रविण भण्डारीले ५० वर्षीया आमा सरिता भण्डारीमाथि धारिलो हतियार प्रहार गरेका थिए। गम्भीर घाइते सरितालाई तत्काल उपचारका लागि भक्तपुर इन्टरनेशनल अस्पताल पुर्याइएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
धनुषाको मिथिला नगरपालिका–११ स्थायी घर भएका आमा–छोरा हाल तेर्सेटामा डेरामा बस्दै आएका थिए। प्रारम्भिक अनुसन्धान अनुसार पारिवारिक विवादका क्रममा घटना भएको हुन सक्ने आशंका गरिएको छ।
घटनापछि प्रविणले पनि आफ्नै टाउकोमा धारिलो हतियार प्रहार गर्दा उनीसमेत घाइते भएका छन्। उनको उपचार भइरहेको र अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ।
घटनाको कारण र परिस्थितिबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।





