११ जनवरी, न्यूयोर्क । नेपाली समुदायभित्र रक्तदानको महत्वबारे सामुदायिक चेतना अभिवृद्धि गरी रक्तदाताको संख्या वृद्धि गर्ने उद्देश्यसहित ब्लड डोनर्स अफ अमेरिका, न्यूयोर्क च्याप्टरको कार्यसमितिको औपचारिक गठन यही जनवरी ११, २०२६ को दिन कृष्ण आचार्यको अध्यक्षतामा सम्पन्न भएको छ।
न्यूयोर्क नेपाली समुदायका नियमित रक्तदाता समेत रहेका आचार्यको नेतृत्वमा गठित समितीको कार्यकारी उपाध्यक्षमा बेगम पंडित, उपाध्यक्ष पदमा शंकर पौडेल, छिरिंग शेर्पा, र शान्ती जिरेल रहेका छन् भने महासचिव पदमा रश्मी श्रेष्ठलाई चयन गरिएकोको छ ।
समितिको सचिव पदमा राजु तामांग, कोषाध्यक्ष पदमा कमला श्रेष्ठ र कार्यकारी सदस्यमा टक रुवाली, बिष्णु राना मगर, चन्द्र नेपाली, बिक्की पुलामी, बुद्ध पौडेल, भिम न्यौपाने, नरेन्द्र सुवेदी, केदार कट्टेललाई चयन गरिएको छ। नेपाली ब्लड डोनर्स अफ अमेरिका का केन्द्रिय समितिका अध्यक्ष महेश्वर पन्त र उपाध्यक्ष विरोचन नेपालको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा विभिन्न समुदायका अगुवा, स्वयंसेवक तथा समर्थकहरूको उपस्थिति रहेको थियो। संस्थाको मुख्य उद्देश्य अमेरिकामा रहेका नेपाली रक्तदाताहरूको सुचीलाई संगठित गर्नु, रक्तदानको महत्वबारे सचेतना फैलाउनु तथा मानवीय सेवामा समुदायलाई थप प्रोत्साहित गर्नु रहेको छ।
कार्यक्रममा बोल्दै नेपाली ब्लड डोनर्स अफ अमेरिका का केन्द्रिय समितिका अध्यक्ष महेश्वर पन्तले स्वेच्छिक रक्तदाताको निरन्तर आवश्यकतामाथि जोड दिँदै आपतकालीन अवस्थामा संगठित समुदायिक प्रयासको भूमिका महत्वपूर्ण हुने बताए। न्यु योर्क च्याप्टरका अध्यक्ष कृष्ण आचार्यले ब्लड डोनर्स अफ अमेरिका, न्यूयोर्क ले भरपर्दो रक्तदाता सञ्जाल निर्माण गर्ने, जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा अस्पताल र रक्त बैंकहरूसँग सहकार्य गर्दै रगतको आवश्यक परेका बिरामीहरूलाई सहयोग गर्ने लक्ष्य लिएको उल्लेख गरे।
बैठकमा कार्यकारी उपाध्यक्ष बेगम पण्डितले नेपाली डायस्पोराभित्र एकता र सेवाभावको अभिबृद्धि गर्दै समुदायमा रक्तदान अभियानमा सक्रिय सहभागिता जनाउन सबैलाई आग्रह गरे। एक थोपा रगतले पनि जीवन बचाउन सक्ने तथ्यलाई समाजमा फैलाउनुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागीहरूले संस्थाको महान उद्देश्य हासिल गर्न आगामी दिनमा रक्तदाता दर्ता अभियान, सचेतनामूलक कार्यक्रम तथा आपतकालीन सहयोग समन्वयमा सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाए।
नेपाली ब्लड डोनर्स अफ अमेरिका, न्यूयोर्क को गठनले अमेरिकी नेपाली समुदायमा स्वास्थ्य उपचारमा रक्तदानलाई ब्यापक बनाऊदै समुदायमा मानवीय सेवाप्रतिको प्रतिबद्धतालाई थप सुदृढ गर्दै आपसी एकता र सहकार्यलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।





