बाग्मती

भक्तपुरको बाल सुधार गृहमा हिंसात्मक झडप, १३ घाइते

९ माघ, काठमाडौं । भक्तपुरको बाल सुधार गृहमा बिहीबार राति भएको झडपमा १३ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जगेबुका अनुसार आपसी हेपाहेपी र कुटपिटबाट झडप सुरु भई आगजनीसम्म पुगेको हो। उद्धार गर्न पुगेको प्रहरीमाथि ढुंगामुढा भएपछि स्थिति झनै तनावग्रस्त बनेको थियो।

आगो लगाइएपछि भवन क्षतिग्रस्त बनेको र त्यहाँ रहेका १६४ जनामध्ये १६२ जनालाई स्थानान्तरण गरिएको छ। उनीहरूलाई काठमाडौं र भक्तपुरका निगरानी कक्षमा राखिएको प्रहरीले जनाएको छ।