१८ माघ, काठमाडौं । अमेरिका र इरानबीच वार्ताको सम्भावना देखिन थालेको छ । इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारीले दुवै देशबीच संवादका लागि संरचना निर्माणको प्रक्रिया अघि बढिरहेको बताएका छन् । खाडी क्षेत्रमा अमेरिकाले सैन्य उपस्थिति बढाइरहेका बेला यस्तो अभिव्यक्ति आएको हो ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख अली लारिजानीले सामाजिक सञ्जालमार्फत मिडियामा देखाइएजस्तो युद्धको माहोलभन्दा फरक रूपमा वार्ताका आधार तयार भइरहेको उल्लेख गरेका छन् । तर सम्भावित वार्ताको ढाँचा र समयबारे उनले खुलाएका छैनन् ।
उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धभन्दा सम्झौतामा रुचि राख्ने विश्वास व्यक्त गरेका छन् । फक्स न्युजसँगको अन्तर्वार्तामा उनले इरानसँग संवाद भइरहेको र सम्झौता हुन सक्छ कि सक्दैन भन्ने कुरा हेर्न बाँकी रहेको बताए । साथै उनले अमेरिकी नौसैनिक शक्ति इरान नजिक तैनाथ भइरहेको संकेत पनि गरेका छन् ।
पछिल्ला केही सातादेखि अमेरिका र इरानबीच तनाव बढ्दै गएको छ । ट्रम्पले इरानको परमाणु कार्यक्रम सीमित गर्नुपर्ने र सरकारविरोधी प्रदर्शनमाथिको दमनलाई लिएर बारम्बार कडा चेतावनी दिँदै आएका छन् । यसैबीच ट्रम्प प्रशासनले अब्राहम लिंकन विमानवाहक युद्धपोतको नेतृत्वमा इरान नजिकै ठूलो नौसैनिक तैनाथ गरेको छ, जसले सम्भावित सैन्य टकरावको आशंका बढाएको छ ।
इरानका वरिष्ठ नेताहरूले अमेरिकासँग वार्ताका लागि तयार रहेको जनाए पनि सैन्य आक्रमणको धम्की बन्द गर्नुपर्ने शर्त राखेका छन् । यसअघि ट्रम्पले वार्ता नमानिए बल प्रयोग गर्ने चेतावनी दिएका थिए ।
अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) ले होर्मुज जलडमरूमध्यमा इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आइआरजीसी) को नौसैनिक अभ्यासले अस्थिरता बढ्न सक्ने चेतावनी दिएको छ । यसको जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले आफ्नै क्षेत्रमा सैन्य अभ्यास गर्ने अधिकारमाथि अमेरिका प्रश्न उठाइरहेको आरोप लगाएका छन् ।
अराघचीले बाह्य शक्तिको उपस्थितिले सधैं तनाव घटाउनेभन्दा बढाउने काम गरेको दाबी गरेका छन् । अमेरिकाले सन् २०१९ मा आइआरजीसीलाई आतंकवादी संगठन घोषणा गरेको थियो ।
अल जजिराका अनुसार तेहरानमा अवस्था अत्यन्तै संवेदनशील र नाजुक छ । तर लारिजानीको वार्ता प्रगतिसम्बन्धी वक्तव्यलाई सकारात्मक संकेतका रूपमा हेरिएको छ ।
सम्भावित टकराव टार्न इरानले कूटनीतिक पहल पनि तीव्र पारेको छ । यसैक्रममा कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले तेहरानमा लारिजानीसँग भेट गरी क्षेत्रीय तनाव कम गर्ने उपायबारे छलफल गरेका छन् । कतारले खाडी क्षेत्रमा शान्ति, सुरक्षा र स्थायित्वका लागि कूटनीतिक प्रयासलाई निरन्तर समर्थन गर्ने जनाएको छ ।





