२६ माघ, काठमाडौं । नेपालका कुल घरपरिवारमध्ये ९६.७ प्रतिशतमा विद्युत् सेवा पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको ‘चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२’ अनुसार देशभर विद्युत् पहुँच उल्लेखनीय रूपमा विस्तार भएको देखिएको हो ।
प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी गण्डकी प्रदेशमा विद्युत् सेवा पुगेको छ । गण्डकीका ९९.५ प्रतिशत घरपरिवारमा निरन्तर विद्युत् सेवा उपलब्ध रहेको सर्वेक्षणले देखाएको छ । यसपछि काठमाडौं उपत्यकामा पनि करिब शतप्रतिशत घरपरिवारमा विद्युत् सेवा पुगेको तथ्यांक छ ।
सबैभन्दा कम विद्युत् पहुँच भने कर्णाली प्रदेशमा देखिएको छ । कर्णालीका ८०.८ प्रतिशत घरपरिवारमा मात्र निरन्तर विद्युत् सेवाको पहुँच पुगेको छ । ग्रामीण क्षेत्रमा यो अवस्था अझ कमजोर देखिएको छ, जहाँ कर्णालीका केवल ७४.८ प्रतिशत घरपरिवारमा मात्र विद्युत् सेवा पुगेको छ । सुदूरपश्चिम प्रदेशमा पनि ७८.२ प्रतिशत घरपरिवारमा विद्युत् सेवा पुगेको छ ।
सहर र ग्रामीण क्षेत्रको तुलना गर्दा सहरी क्षेत्रमा ९८.२ प्रतिशत घरपरिवारमा विद्युत् सेवा पुगेको छ भने ग्रामीण क्षेत्रमा यो दर ९३.७ प्रतिशत रहेको छ । प्रदेशगत रूपमा कोशी प्रदेशमा ९७.२ प्रतिशत घरपरिवारमा विद्युत् सेवा पुगेको छ । कोशीका सहरी क्षेत्रमा ९८.८ प्रतिशत र ग्रामीण क्षेत्रमा ९७.२ प्रतिशत घरपरिवारमा विद्युत् सेवा उपलब्ध छ । मधेस प्रदेशमा करिब ९८ प्रतिशत घरपरिवारमा विद्युत् सेवा पुगेको सर्वेक्षणले देखाएको छ ।
सर्वेक्षणले टेलिफोन सेवाको पहुँच पनि उजागर गरेको छ । देशभर ९५.५ प्रतिशत घरपरिवारमा टेलिफोन सुविधा (स्थिर वा मोबाइल) पुगेको छ । यसमा सबैभन्दा बढी बागमती प्रदेशमा ९७.१ प्रतिशत घरपरिवारमा टेलिफोन सुविधा उपलब्ध छ भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९२.६ प्रतिशत रहेको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार सर्वेक्षणका लागि देशभर ५४० क्लस्टर (गणना क्षेत्र) छनोट गरिएको थियो । जसमा ३०४ सहरी र २३६ ग्रामीण क्षेत्रका क्लस्टर समावेश थिए । प्रत्येक क्लस्टरबाट २४ परिवार छनोट गरी कुल १२ हजार ९ सय ६० परिवारबाट पारिवारिक विवरण संकलन गरिएको कार्यालयले जनाएको छ ।





