राजनीति

सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनतासम्म पुग्दैन : राष्ट्रपति पौडेल

२८ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको वास्तविक प्रतिफल जनतासम्म नपुग्ने स्पष्ट पारेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै उनले लोकतन्त्रको सफलता सुशासनमै निर्भर रहने बताए।

राष्ट्रपति पौडेलले जनताको त्याग, बलिदान र संघर्षबाट प्राप्त संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको मूल उद्देश्य जनतालाई सहज र प्रभावकारी सेवा प्रदान गर्दै समृद्धि हासिल गर्नु रहेको उल्लेख गरे। संविधानले राखेको यही अभिष्ट पूरा गर्न निरन्तर आवाज उठिरहेको र पछिल्लो समय युवा पुस्ताले पनि संघर्षमार्फत यही चाहना अभिव्यक्त गरेको उनले बताए।

लोकतन्त्रको सुदृढीकरण, आर्थिक विकास, सुशासन, सामाजिक न्याय र समृद्धि मुलुकको साझा चाहना भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पुर्‍याउन नसकिने दोहोर्‍याए। जनअपेक्षाअनुसार विकास र समृद्धि हासिल गर्न अख्तियार दुरुपयोगको अन्त्य र भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको उनले बताए।

लोकतन्त्रले अपेक्षा गरेको सुशासन, सामाजिक न्याय र समृद्धिलाई व्यवहारमा उतार्न सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्नेमा उनले जोड दिए। अख्तियार दुरुपयोग केवल कानुन उल्लंघन मात्र नभई नागरिकको विश्वास र भविष्यका सपनामाथि आघात हुने कार्य भएको भन्दै यसले राज्य र नागरिकबीचको भरोसामा गहिरो असर पार्ने उल्लेख गरे।

राष्ट्रपति पौडेलले भ्रष्टाचारले लोकतन्त्रका आधारभूत मूल्यहरू कमजोर बनाउने चेतावनी दिँदै भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिबद्धता पहिलो शर्त भएको बताए। सत्ता, शक्ति र धनको अनुचित मोहले प्रक्रिया र प्रणालीको दुरुपयोग गराई मानिसलाई भ्रष्टाचारतर्फ धकेल्ने उनले स्पष्ट पारे।