२८ माघ, काठमाडौं । खाना पकाउने ग्यास (एलपी ग्यास) को आपूर्तिमा देखिएको असहज अवस्थालाई ध्यानमा राख्दै नेपाल आयल निगमले टेकुस्थित आफ्नो कार्यालयबाटै सिधै ग्यास बिक्री–वितरण सुरु गरेको छ । डिलरमार्फत ग्यास नपाएका र अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गर्दै यो व्यवस्था लागू गरिएको निगमले जनाएको छ ।
निगमको एलपीजी विभागका प्रमुख विनीतमणि उपाध्यायका अनुसार उपभोक्तालाई सहजीकरण गर्ने उद्देश्यले आजदेखि टेकु कार्यालय परिसरबाटै विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री सुरु गरिएको हो । हाल नेपाल ग्यासका सिलिन्डर उपलब्ध भइसकेका छन् भने एभरेष्ट र सुगम ग्याससँग पनि समन्वय भइरहेको र ती ब्रान्डका सिलिन्डरसमेत चाँडै उपलब्ध हुने जानकारी उनले दिए ।
उनका अनुसार नियमित डिलरबाट ग्यास प्राप्त गर्न नसकेका टेकु तथा आसपासका बासिन्दालाई यो व्यवस्था विशेष रूपमा लाभदायक हुनेछ । “जसलाई अत्यन्तै आवश्यक छ र डिलरबाट ग्यास पाउन सकेका छैनन्, त्यस्ता ‘नीडी’ उपभोक्तालाई लक्षित गरेर यो कदम चालिएको हो,” उपाध्यायले बताए ।
निगमको यस पहलले बजारमा ग्यासको कृत्रिम अभाव हुन नदिन र उपभोक्तालाई सरकारी निकायबाटै प्रत्यक्ष राहत प्रदान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । कार्यालयबाटै सिधै ग्यास वितरण सुरु भएपछि उपभोक्ताले ग्यासका लागि लामो समय कुर्नुपर्ने वा विभिन्न डिलर धाइरहनुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ ।





