८ फागुन, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की शुक्रबार मुस्ताङको भ्रमणमा पुगेकी छन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत मुस्ताङ पुगेकी प्रधानमन्त्रीलाई स्वागत गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ) अजिता शर्मा र जिल्ला प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) छिरिङ किप्पा लामासहितको टोली विमानस्थल पुगेको थियो ।
स्वागतका लागि पुगेका दुवै सुरक्षा र प्रशासनिक नेतृत्व महिलामैत्री देखेपछि प्रधानमन्त्री कार्कीले खुसी व्यक्त गरिन् । सामान्य भलाकुसारीपछि उनले हाँस्दै भनिन्, “मुस्ताङ त महिलाले हाँकेको जिल्ला रहेछ ।” त्यसलगत्तै उनले प्रेमपूर्वक ‘फोटो खिचौँ’ भन्दै सीडीओ शर्मा र डीएसपी लामालाई आग्रह गरिन् । प्रधानमन्त्रीकै आग्रहमा देशको महिला प्रधानमन्त्रीसँग जिल्लाको प्रशासन र प्रहरी नेतृत्व सम्हालिरहेका महिला अधिकारीहरूको एकै फ्रेममा तस्वीर खिचिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए ।
प्रधानमन्त्रीको आत्मीय व्यवहारप्रति दुवै अधिकारी पनि उत्साहित देखिइन् । सीडीओ शर्माले प्रधानमन्त्रीको उत्प्रेरणाले निर्वाचन सम्पन्न गर्न थप हौसला मिलेको प्रतिक्रिया दिइन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री कार्कीले मुक्तिनाथ मन्दिर मा दर्शन गरेकी थिइन् । साथै जोमसोमस्थित नेपाली सेनाको इन्द्रबक्स गणमा आयोजित निर्वाचन लक्षित छलफल तथा अन्तरक्रियामा पनि सहभागी भइन् । कार्यक्रममा उनले आसन्न निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न निर्देशन दिइन् ।
“निर्वाचनलाई सफल बनाउन दत्तचित्त भएर काम गर्नुहोस्, यहाँहरूले राम्रो काम गर्नुभएको छ, कुनै समस्या नआउने गरी तयारी गर्नुहोला भनेर जानुभयो,” सीडीओ शर्माले भनिन् ।
प्रधानमन्त्रीको यस भ्रमण र महिला नेतृत्वको उपस्थितिले स्थानीय प्रशासनमा सकारात्मक सन्देश प्रवाह गरेको जनाइएको छ ।





