राजनीति

रवि लामिछाने : ‘म परेँ रवि लामिछाने, अलिअलि नघोची हुँदैन’

१५ फागुन, काठमाडौं । रवि लामिछानेले आफू रवि लामिछाने भएकै कारण धेरै बोल्नुपरेको टिप्पणी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उनले शुक्रबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आफूलाई बोल्न नदिने प्रयास भइरहेको बताएका हुन् ।

उनले भने, ‘मलाई धेरै नबोल, तिखो नबोल पनि भन्छन् । चर्को नबोल भन्छन्, मलाई गालीगलौज नगर पनि भन्छन् । म परेँ रवि लामिछाने, अलिअलि नघोची हुँदैन ।’

लामिछानेले आफूलाई निरन्तर घोच्ने काम भइरहेकाले जवाफ दिन बाध्य भएको उल्लेख गरे । ‘ठाउँ–ठाउँबाट घोचिरहन्छन्, अनि दिइरहनुपर्छ,’ उनले भने, ‘टुच्च टुच्च नघोचे म चुप लाग्छु ।’

आफूमाथि प्रमाण रहेको भनिएको ६५८ दिन बितिसकेको दाबी गर्दै उनले प्रमाण सार्वजनिक गर्न चुनौतीसमेत दिए । ‘चाहिएन प्रमाण भइगो । मलाई अन्तिम इच्छा सोधिएको पनि थियो । मेरो अन्तिम इच्छा सोध्दै बुट बजारेर सोधिएको पनि तपाईँहरूलाई थाहै होला । मैले त्यसको जवाफ दिएको थिइनँ,’ उनले भने ।

उनले थपे, ‘आज म चितवनबाट भन्न चाहन्छु– मेरो अन्तिम इच्छा के हो, २१ गते मतपत्रमा देखाइदिनुहोला ।’

चितवनको चुनावी सभामा उनले मतदातालाई आफ्नो पक्षमा मत दिएर जवाफ दिन आह्वान गरेका थिए ।