अन्तर्राष्ट्रिय

दक्षिणी इरानमा विद्यालयमा मिसाइल आक्रमण, कम्तीमा १०८ जनाको मृत्यु

दक्षिणी इरानको होर्मोजगान प्रान्तअन्तर्गत मिनाब सहरमा रहेको एक विद्यालयमा भएको मिसाइल आक्रमणमा कम्तीमा १०८ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जनाएका छन्। इरानभरि भएका हवाई आक्रमणमा कुल २०१ जनाको ज्यान गएको र ७४७ जना घाइते भएको तथ्यांक सार्वजनिक गरिएको छ।

इरानी राष्ट्रपति मोसुद पेजेस्कियान ले विद्यालयमाथिको आक्रमणलाई “जंगली कार्य” भन्दै आक्रमणकारीहरूले गरेका अपराधहरूको इतिहासमा अर्को “कालो पाना” थपिएको बताएका छन्। तर अमेरिका र इजरायलले विद्यालयलाई प्रत्यक्ष रूपमा निशाना बनाइएको विषयमा औपचारिक पुष्टि गरेका छैनन्।

उक्त विद्यालय इस्लामिक रिभोल्युशनरी गार्ड कोर (आईआरजीसी) को क्याम्प नजिकै रहेको बताइएको छ, जुन आक्रमणको मुख्य लक्ष्य भएको दाबी गरिएको छ। स्थानीय एक अधिकारीका अनुसार विद्यालय क्षेत्रमा तीनवटा मिसाइल खसेका थिए।

घटनापछि जेनेभास्थित रेडक्रस र रेड क्रिसेन्टका उद्धार टोलीहरू प्रभावित क्षेत्रमा परिचालन गरिएको जानकारी दिइएको छ। बीबीसी ले विस्फोटपछिका केही दृश्य सामग्री प्रमाणीकरण गरेको जनाएको छ, जसमा भवनबाट धुवाँ निस्किएको, मानिसहरू आत्तिएको र उद्धार कार्य भइरहेको देखिन्छ। यद्यपि मृतक र घाइतेको संख्या स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको पनि जनाएको छ।

घटनापछि सामाजिक सञ्जालमा इरानी नागरिकहरूले आक्रोश व्यक्त गरेका छन्। केहीले युद्धको विरोध गर्दै निर्दोष बालबालिकाको मृत्युको निन्दा गरेका छन् भने अन्यले सुरक्षा व्यवस्थामा कमजोरी भएको आरोप सरकारमाथि लगाएका छन्।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले प्रारम्भिक आक्रमणमै इरानका सर्वोच्च नेता अली खामेनीसहित केही वरिष्ठ कमाण्डर मारिएको दाबी गरेका छन्। उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि भएको छैन।

इरानमा जारी तनावबीच विद्यालयमा भएको यो घटना गम्भीर मानवीय संकटका रूपमा हेरिएको छ।