१९ फागुन, काठमाडौं । मध्यपूर्वमा तीव्र रूपमा चुलिएको सुरक्षा जोखिमका बीच अमेरिकाले त्यहाँ रहेका आफ्ना नागरिकलाई सक्दो चाँडो सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ। अमेरिकी विदेश मन्त्रालयले सम्भावित आक्रमण र प्रतिआक्रमणको जोखिम बढेको जनाउँदै मध्यपूर्वका विभिन्न देश छोड्न औपचारिक सूचना जारी गरेको हो।
सूचनामा बहराइन, मिस्र, इरान, इराक, इजरायल, वेस्ट बैंक, गाजा, जोर्डन, कुवेत, लेबनान, ओमन, कतार, साउदी अरब, सीरिया, संयुक्त अरब इमिरेट्स र यमनमा रहेका अमेरिकी नागरिकलाई उच्च सतर्कता अपनाउन र आवश्यक परे तत्काल प्रस्थान गर्न भनिएको छ।
हालै इरानमा अमेरिकी तथा इजरायली सैन्य कारबाहीपछि क्षेत्रीय तनाव झनै बढेको छ। उक्त कारबाहीमा इरानका सर्वोच्च नेता अली खामेनीको मृत्यु भएको दाबी गरिएको छ। त्यसपछि इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी तथा इजरायली सैन्य आधारलाई लक्षित गर्दै प्रतिआक्रमण थालेको जनाएको छ।
यसैबीच रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको पुष्टि भएको छ। साउदी अरबको रक्षा मन्त्रालयका अनुसार दूतावास भवनमाथि दुईवटा ड्रोन प्रहार गरिएको हो। आक्रमणबाट सामान्य क्षति पुगेको जनाइएको छ।
लगातारको आक्रमण र प्रतिआक्रमणले मध्यपूर्व क्षेत्र थप अस्थिर बन्दै गएको विश्लेषण गरिएको छ। अमेरिकी पक्षले आफ्ना नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक कूटनीतिक तथा सुरक्षा कदम अगाडि बढाएको जनाएको छ।




