काठमाडौं, २७ फागुन । प्रतिनिधिसभा निर्वाचन २०८२ को अन्तिम मतपरिणामले नेपालको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन ल्याएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर प्रत्यक्षतर्फ उल्लेखनीय सफलता हासिल गर्दै कुल १२५ सिट जितेको छ।
अन्तिम मतपरिणाम र मतान्तरको तथ्याङ्क विश्लेषण अनुसार रास्वपाका ६७ उम्मेदवारले २० हजारदेखि ५० हजारभन्दा बढी मतान्तरमा विजय हासिल गरेका छन्, जसले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रजस्ता परम्परागत दलहरूलाई ठूलो धक्का दिएको छ। रुपन्देही–३ मा रास्वपाका डा. लेखजंग थापाले नेपाली कांग्रेसका सुशील गुरुङलाई ५० हजार ३७९ मतान्तरले हराउँदै सबैभन्दा ठूलो मतान्तरमा जित्ने उम्मेदवार बने। थापाले ५८ हजार ८१४ मत प्राप्त गर्दा गुरुङले ८ हजार ४३५ मत मात्र ल्याए। त्यसैगरी झापा–५ मा रास्वपाका बालेन शाहले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गर्दै ठूलो राजनीतिक सन्देश दिएका छन्।
शाहले ६८ हजार ३४८ मत ल्याउँदा ओलीले १८ हजार ७३४ मत मात्र पाए, जबकि ओलीले यस क्षेत्रमा विगतमा छ वटा निर्वाचन जितिसकेका थिए। झापा–४ मा रास्वपाकी इन्दिरा राना मगरले पूर्वसभामुख देवराज घिमिरेलाई ४८ हजार ७४२ मतान्तरले हराइन्। उनले ६० हजार ११० मत ल्याउँदा घिमिरेले ११ हजार ३६८ मत प्राप्त गरे। चितवन–१ मा हरि ढकालले कांग्रेसका राजेन्द्रकुमार बुर्लाकोटीलाई ४५ हजार १७५ मतान्तरले पराजित गरे। त्यस्तै रूपन्देही–२ का सुलभ खरेलले एमाले उपाध्यक्ष विष्णु पौडेललाई ४३ हजार ६८९ मतान्तरले हराए भने रूपन्देही–१ का सुनिल लम्सालले कांग्रेसका हिराबहादुर खत्रीलाई ४२ हजार ८६३ मतान्तरले पराजित गरे।
मोरङ–६ की रुबिना आचार्यले कांग्रेस नेता शेखर कोइरालालाई ४२ हजार ६६३ मतान्तरले हराउँदा सुनसरी–२ का लालविक्रम थापाले कांग्रेसका राजीव कोइरालालाई ४१ हजार २७७ मतान्तरले पराजित गरे। यसपटकको परिणामले मतदातामा नयाँ राजनीतिक विकल्पप्रति आकर्षण बढेको संकेत दिएको विश्लेषकहरूको भनाइ छ। परम्परागत दलहरूप्रतिको असन्तुष्टि र परिवर्तनको चाहनाले रास्वपाको पक्षमा ठूलो मतलहर सिर्जना भएको देखिएको छ।





