२७ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मतगणना सकिएपछि नयाँ संसद्को समीकरण स्पष्ट भएको छ। प्राप्त मतको आधारमा सिट बाँडफाँट गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदको सबैभन्दा ठूलो दलको रूपमा उदाएको देखिएको छ।
प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिक मतका आधारमा करिब ५७ सिट पाउने अनुमान गरिएको छ। यससँगै प्रतिनिधिसभामा उसको कुल सिट संख्या १८२ पुग्ने देखिएको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा दुई तिहाइ बहुमतका लागि १८४ सिट आवश्यक पर्ने भएकाले रास्वपा दुई सिटले मात्र दुई तिहाइ बहुमतबाट टाढा रहनेछ। समानुपातिकतर्फ कुल १ करोड ७ लाख ६४ हजार ८ सय ८९ सदर मतमध्ये रास्वपाले ५१ लाख ४६ हजार ६ सय ८१ मत प्राप्त गरेको छ, जुन कुल मतको करिब ४७ प्रतिशतभन्दा बढी हो।
दोस्रो ठूलो दलका रूपमा नेपाली कांग्रेस देखिएको छ। कांग्रेसले प्रत्यक्षमा १८ सिट जितेको छ भने समानुपातिकतर्फ करिब २० सिट पाउने अनुमान गरिएको छ। यसरी कांग्रेसको प्रतिनिधिसभामा कुल सिट संख्या ३८ पुग्ने देखिन्छ, जुन अघिल्लो प्रतिनिधिसभामा रहेको ८९ सिटको तुलनामा निकै कम हो।
त्यस्तै नेकपा एमाले ले प्रत्यक्षतर्फ ९ सिट जितेको छ र समानुपातिकबाट १६ सिट पाउने देखिएको छ। यससँगै एमालेको कुल सिट संख्या २५ पुग्नेछ। अघिल्लो प्रतिनिधिसभामा एमालेको ७९ सिट रहेको थियो। यसपटक समानुपातिक मतमा पनि एमालेको मत निकै घटेको छ।
नेपाली कम्युनिस्ट पार्टी ले प्रत्यक्षमा ८ सिट जितेको छ भने समानुपातिकबाट ९ सिट पाउने अनुमान गरिएको छ। यसरी प्रतिनिधिसभामा उसको कुल सिट संख्या १७ पुग्ने देखिएको छ।
त्यसैगरी श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकतर्फ ४–४ सिट पाउने देखिएको छ। श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ सिट जितेकाले उसको कुल सिट संख्या ७ पुग्नेछ भने राप्रपाले प्रत्यक्षमा १ सिट जितेकाले उसको कुल सिट ५ हुनेछ। चार महिना अघि मात्र गठन भएको श्रम संस्कृति पार्टीले पहिलो पटकमै राष्ट्रिय दलको मान्यता पाउने सम्भावना देखिएको छ।
यस चुनावमा जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टी भने प्रतिनिधिसभामा प्रवेश गर्न असफल भएका छन्। यी दलहरूले समानुपातिकतर्फ आवश्यक ३ प्रतिशत मतको थ्रेसहोल्ड पार गर्न सकेनन्।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरे का अनुसार समानुपातिकतर्फको मतगणना सकिएपछि अब दलहरूले पाएको सदर मतका आधारमा सिटको अन्तिम निर्धारण गरिनेछ। त्यसपछि आयोगले सम्बन्धित दलहरूलाई बन्दसूचीबाट नाम सिफारिस गर्न पत्र पठाउनेछ र प्रक्रिया पूरा भएपछि समानुपातिक सांसदहरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिनेछ।





