२९ फागुन, काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेयरिङ कमिटीको १३ औँ बैठक सम्पन्न भएको छ। फाल्गुन २८ गते बसेको बैठकमा मध्यपूर्व क्षेत्रमा उत्पन्न संकटप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।
बैठकमा अन्तर्राष्ट्रिय महाधिवेशनमा प्रत्यक्ष सहभागी हुन इच्छुक अभियन्ता, राष्ट्रिय समन्वय परिषद् र प्रत्यासी उम्मेदवारहरूले महाधिवेशनको मिति र निर्वाचन प्रक्रियामा स्थगन गर्ने लिखित अनुरोध दिएका थिए। यसलाई मध्यनजर गर्दै कमिटीले आगामी निर्वाचन प्रक्रियामा भौतिक र अनलाइन दुवै माध्यममा लचकता अपनाउने निर्णय गरेको छ।
यसअन्तर्गत, मध्यपूर्व क्षेत्रका उम्मेदवार तथा प्रतिनिधिहरूले नेपालमा भौतिक रूपमा उपस्थित हुन नसक्ने अवस्थामा उम्मेदवारी दर्ता, सनाखत र सपथ ग्रहणसमेत भर्चुअल माध्यमबाट गरिनेछ।
साथै, आगामी १२औँ महाधिवेशनमा मध्यपूर्व घटनालाई उच्च प्राथमिकतामा राखी संक्रमणसम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गरिनेछ। सुझावहरू [email protected] मा पठाउन अनुरोध गरिएको छ।
डा. बद्री केसी (अध्यक्ष) र महेश कुमार श्रेष्ठ (अध्यक्ष) द्वारा जारी प्रेस विज्ञप्तिमा एनआरएनएको महाधिवेशन उत्साहपूर्ण बनाउन सबैलाई सहयोग गर्न हार्दिक अपिल गरिएको छ।





