२९ फागुन, काठमाडौं । चुनावी अभियानपछि बालेन शाह केही अस्वस्थ भएपछि हाल घरमै आराम गरिरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता समेत रहेका बालेन लगातारको यात्रा र धुलोधुँवाका कारण हल्का बिरामी भएको उनको टिमले जनाएको छ।
स्वास्थ्य ठीक नभएकै कारण बालेन अहिले कसैसँग भेटघाट गरिरहेका छैनन्। बिहीबार भने उनी पार्टी सभापति रवि लामिछाने लाई भेट्न उनको निवास पुगेका थिए। छाती र खुट्टामा सामान्य समस्या देखिएपछि लामिछाने पनि आराम गरिरहेका छन्।
भेटका क्रममा दुवै नेताबीच सम्भावित सरकारको प्रारम्भिक खाकाबारे सामान्य कुराकानी भए पनि मन्त्रीहरूको नाम र कार्यविभाजनबारे भने कुनै छलफल नभएको बालेननिकट स्रोतले जनाएको छ। सामाजिक सञ्जालमा विभिन्न मन्त्रीहरूको नाम सार्वजनिक भइरहेका भए पनि त्यसबारे नेताहरूले औपचारिक रूपमा कुनै निर्णय नगरेको बताइएको छ।
समानुपातिकतर्फका सांसदहरूको संख्या तय भए पनि अन्तिम नामावली अझै टुंगो लागिसकेको छैन। यस्तो अवस्थामा सरकार गठन र मन्त्रीहरूको जिम्मेवारीबारे हतारमा चर्चा गर्नु उपयुक्त नहुने बालेन टिमको भनाइ छ।
रास्वपाभित्र करिब १२–१३ जनाको मन्त्रिपरिषद् बन्न सक्ने अनुमान गरिएको भए पनि कुन नेता कुन मन्त्रालयमा जाने भन्नेबारे अहिलेसम्म कुनै निर्णय नभएको स्रोतले जनाएको छ। पार्टी नेतृत्वले अहिले नेताहरूलाई आराम गर्न र अनावश्यक अनुमान नगर्न आग्रह गरेको छ।
यस्तै, अर्थमन्त्रीमा रामेश्वर खनाल लाई प्रस्ताव गरिएको भन्ने चर्चा पनि गलत भएको बालेननिकट नेताहरूले बताएका छन्। यसअघि पार्टी कार्यक्रममै सभापति लामिछानेले उपसभापति स्वर्णिम वाग्ले लाई बजेट तयारी गर्न आग्रह गरेका थिए।
निर्वाचन आयोग नेपाल ले समानुपातिक सूची प्राप्त गरेपछि मात्र राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन बुझाइने र त्यसपछि संसदीय दलको नेता चयन तथा मन्त्रीबारे पार्टीभित्र औपचारिक छलफल सुरु हुने बताइएको छ।
हाल दुवै नेता स्वास्थ्यलाभमा रहेकाले पार्टी नेतृत्वले अनावश्यक अड्कलबाजी नगर्न आग्रह गरेको छ।





