समाचार

राप्रपाले समानुपातिकतर्फका ४ उम्मेदवारको नाम टुंग्यायो

काठमाडौं, १ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको समानुपातिकतर्फबाट सांसदका लागि चार जनाको नाम टुंगो लगाएको छ।

आज बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीले प्राप्त गरेको चार सिटका लागि उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो। पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार बैठकले समानुपातिक कोटाअनुसार उम्मेदवारहरूको नाम अनुमोदन गरेको हो।

राप्रपाबाट समानुपातिक सांसदका लागि सिफारिस गरिएकाहरूमा महोत्तरीका भरत गिरी (खस आर्य पुरुष), रुपन्देहीका ताहिर अली (मुस्लिम पुरुष), झापाकी खुश्बु ओली (खस आर्य महिला) र धादिङकी सरस्वती लामा (जनजाति महिला) रहेका छन्।

उनीहरूको नाम निर्वाचन आयोगमा पठाइने र आवश्यक प्रक्रिया पूरा भएपछि उनीहरू प्रतिनिधिसभाको समानुपातिक सांसदका रूपमा नियुक्त हुनेछन्।