राजनीति

गगनको राजीनामाबारे केसी : पार्टी र देश नै बदल्छु भनेको क्याप्टेनले मैदान छोडेर जान मिल्दैन

६ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले निर्वाचनको हार वा जितकै आधारमा मात्र नेतृत्वको परीक्षण गरिनु गलत हुने बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यसमितिको बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै केसीले सभापति गगनकुमार थापाको राजीनामा बेठिक भएको बताए । पार्टी र मुलुक नै बदल्छु भनेर मैदानमा आएको क्याप्टेनले जिम्मेवारी छोडेर जान नमिल्ने उनको भनाइ छ ।

उनले निर्वाचनको परिणामबाट नआत्तिन पार्टी कार्यकर्ताहरूलाई आग्रह गरे । राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्थिरता, समृद्धि र विकास दिन आग्रह गर्दै लोकतन्त्रलाई संरक्षण गर्ने काममा कांग्रेसले सहयोग गर्ने बताए ।


पार्टीका विगतका विकृति र विसंगतिहरू रातारात समाधान नहुने केसीको भनाइ छ । ५० दिनको छोटो अवधिमा जादु जसरी परिवर्तन खोज्नु व्यावहारिक नहुने उनको भनाइ छ ।