राजनीति

बालेनको बयान : सरकारको अत्याधिक बल र आतंकवादी शैलीले २४ गतेको घटना निम्त्यायो

११  चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाहले भदौ २४ गते नख्खु कारागार घटनासँग सम्बन्धित आफ्नो बयान सार्वजनिक गरेका छन्। उनले घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकार र सरकार सहभागी दलले लिनुपर्ने बताएका छन्।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा आधारित बालेन्द्रको बयान अनुसार, २४ गतेको घटनापूर्व सरकारले अत्याधिक बल प्रयोग गरेको र “आतंकवादी शैली” अपनाएको कारणले हिंसात्मक अवस्था सिर्जना भएको उनले औंल्याए।

उनका अनुसार, राष्ट्रपति र सेनापतिको अनुरोधमा उनले आन्दोलन शान्त पार्ने भूमिका खेलेका थिए। बालेन्द्रले भने, “२४ गतेको घटना दुखद थियो र २३ गते सरकारको अत्याधिक बल प्रयोग र आतंकवादी शैलीको नतिजा हुनसक्छ। २४ गते काठमाडौं महानगरपालिकाले समयमै दमकल पठाएको थियो र महानगरभित्रका संरचना महानगरकै दमकलले नियन्त्रण गरेको हो।”

बालेन्द्रका अनुसार २०८२ साल भाद्र २३ गते उनी सरकारी निवास लैनचौरमा थिए। त्यस दिनको रैली शान्तिपूर्ण थियो र उनी आन्दोलनमा संलग्न थिएनन्। व्यवसायी र रेस्टुरेन्टहरूले अनुरोध गरेपछि महानगर प्रहरी बलले पानीको प्रहार गरेको थियो। सामाजिक सञ्जालमा उनले संयमता अपनाउन अपिल गरे र अनियन्त्रित आन्दोलनलाई शान्त पार्न सहयोग पुर्‍याए।

बालेन्द्रले घटनापछि महानगर प्रहरी बल र अन्य सम्बन्धित निकायसँग समन्वय गर्दै घाइते तथा मृतक परिवारलाई तत्काल सहयोग पुर्‍याएको पनि बताए।

उनले अझ स्पष्ट पार्दै भने, “सम्माननीय राष्ट्रपति र सेनापतिको आग्रहमा मेरो आन्दोलन शान्त पार्ने भूमिका थियो। तत्कालीन सरकारले अपराध र आतंकवादी क्रियाकलाप गरेको हो र सम्पूर्ण क्षतिको जिम्मा तत्कालीन सरकार र सहभागी दलले लिनुपर्छ।”

फेसबुकमा व्यक्त गरिएको कथित अभिव्यक्ति “जलाई दिन्छु” शब्दको सन्दर्भमा बालेन्द्रले भने कि त्यो अनावश्यक रोकेपछिको Metaphor मात्र थियो र हिंसात्मक अभिव्यक्तिको उद्देश्य थिएन।

यो बयानले २४ भदौको घटनापछि सरकारको भूमिका र प्रशासनिक तयारीमाथि नयाँ प्रश्न उठाएको छ।