११ चैत, काठमाडौं । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेखनीय वृद्धि गरेको छ। निगमले बुधबार साँझ जारी गरेको सूचनाअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्य बढाइएको हो।
नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १८४ रुपैयाँ पुगेको छ। दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ कायम गरिएको छ। यसअघि पेट्रोलको मूल्य पहिलो वर्गमा १६९ रुपैयाँ ५० पैसा थियो।
त्यसैगरी डिजेल र मट्टितेलको मूल्य पनि बढेर पहिलो वर्गमा १६४ रुपैयाँ ५० पैसा पुगेको छ। दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ प्रतिलिटर कायम गरिएको निगमले जनाएको छ।
निगमले क्षेत्रअनुसार मूल्य वर्गीकरण पनि निर्धारण गरेको छ। पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज रहेका छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ पर्दछन् भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल समावेश गरिएको छ।
नयाँ मूल्य बुधबार साँझदेखि नै लागू भएको निगमले जनाएको छ।






