१३ चैत, काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा सरकारले धरपकड गर्ने हो भने मुलुक पुन: द्वन्द्वतर्फ जान सक्ने चेतावनी दिएका छन्।
रास्वपा संसदीय दलका नेता बालेन्द्र शाहको नेतृत्वमा आज गठन भएको मन्त्रिपरिषद्को पहिलो बैठकले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। बैठकले सुरक्षा संयन्त्रसम्बन्धी कारबाही अघि बढाउन अघि अध्ययन समिति गठन गर्ने र अन्य सिफारिस तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
बस्नेतले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै भने, “सरकारको सो निर्णय कुटिल र षड्यन्त्रपूर्ण छ। यदि यसबाट राजनीतिक बदला लिन खोजियो भने देशलाई पुन: द्वन्द्वतर्फ धकेल्ने जोखिम छ। यस्तो पक्षपाती निर्णय कुनै हालतमा स्वीकार्य छैन र यसको विरुद्ध सशक्त प्रतिरोध हुनेछ।”
बस्नेतले २३–२४ भदौमा भएको आन्दोलन र तोडफोडमा संलग्न सबै पक्षको निष्पक्ष अनुसन्धान र कारबाहीको माग पनि दोहोर्याएका छन्। उनले सुरक्षा संयन्त्र बाहेक सबैको सिफारिस तत्काल कार्यान्वयन गर्नु न्यायसंगत नभएको र पूर्वाग्रहपूर्ण कदम हुन सक्ने चेतावनी दिएका छन्।





