समाचार

ओली पक्राउप्रति एमाले सांसद असन्तुष्ट, प्रधानमन्त्री समक्ष रिहाइको माग

१६ चैत, काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्र राई ले प्रधानमन्त्री बालेन शाह समक्ष पार्टी अध्यक्ष केपी शर्मा ओली को तत्काल रिहाइको माग गरेका छन्।

सोमबार प्रधानमन्त्री शाहले कोशी प्रदेशका सांसदहरूसँग क्षेत्रगत समस्या र आवश्यकताबारे छलफल गर्ने क्रममा राईले उक्त माग राखेका हुन्। उनले ओलीको पक्राउलाई प्रतिशोधपूर्ण कदम भन्दै शीघ्र रिहा गर्नुपर्ने बताएका थिए।

त्यसै क्रममा राईले सांसदहरूलाई स्वकीय सचिव राख्न नदिने व्यवस्थाप्रति पनि असन्तुष्टि व्यक्त गरे। प्रभावकारी कामका लागि व्यक्तिगत सहयोगी आवश्यक हुने भन्दै उनले यस विषयमा पुनर्विचार गर्न आग्रह गरेका थिए।

छलफलका क्रममा राईले आफ्ना धारणा राखिरहँदा प्रधानमन्त्री शाह भने मौन रहेको सहभागी एक सांसदले जानकारी दिएका छन्। प्रधानमन्त्रीबाट उक्त माग र असन्तुष्टिप्रति कुनै प्रतिक्रिया नआएको बताइएको छ।

प्रधानमन्त्रीसँगको यो भेटलाई वर्तमान सरकार र प्रमुख प्रतिपक्षबीचको सम्बन्धका सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ।