शिक्षा

विद्यार्थी भर्ना १५ वैशाखदेखि, पठनपाठन २१ वैशाखबाट सुरु हुने

२६ चैत, काठमाडौं । आगामी शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी भर्ना १५ वैशाखदेखि सुरु हुने भएको छ। यसअघि सरकारले १५ वैशाखबाटै शैक्षिक सत्र सञ्चालन गर्ने निर्णय गरेको थियो।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भर्ना कहिलेबाट सुरु हुने भन्ने अन्योल हटाउँदै स्पष्ट पारेको छ कि भर्ना अभियान पनि १५ वैशाखदेखि नै सञ्चालन हुनेछ। पठनपाठन भने २१ वैशाखदेखि सुरु हुने छ।

केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ कि वैशाख २ गतेदेखि प्रवर्धनात्मक र रचनात्मक शैक्षिक कार्यक्रम सञ्चालन गर्न विद्यालयहरूलाई निर्देशन दिइएको छ। सो क्रममा १५ वैशाखअघि शैक्षिक सत्रका कार्ययोजना, वार्षिक कार्यतालिका, शैक्षणिक योजना निर्माण/तयारी, विद्यालय सुधार योजना अद्यावधिक तथा शिक्षकको पेशागत क्षमता विकासका कार्यक्रम सञ्चालन गर्नुपर्नेछ।

त्यस्तै, विद्यार्थीको सिकाइ उपलब्धि सुधारसम्बन्धी योजना निर्माण पनि यस अवधिमा गरिने बताइएको छ।

शैक्षिक संस्थामा शनिबार र आइतबार सार्वजनिक बिदा हुने भएकाले सोही अनुसार कार्यक्रम तयार गरी कार्यान्वयन गर्न विद्यालयहरूलाई निर्देशन दिइएको छ।

यसअघि १ वैशाखबाट शैक्षिक सत्र सुरु हुने प्रचलन थियो, तर नयाँ निर्णयअनुसार अब वैशाख १५ देखि नै नयाँ सत्र सुरु हुनेछ।