समाचार

नेपालमा पहिलो टियर–४ हाइपरस्केल डाटा सेन्टर बनाउने घोषणा

२५ वैशाख, काठमाडौं । नेपालमा पहिलो पटक टियर–४ (Tier IV) हाइपरस्केल डाटा सेन्टर निर्माण हुने भएको छ । स्वदेशी निजी कम्पनी ‘बिचुटेन डाटा भोल्ट’ (BDV) ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालकै पहिलो टियर–४ स्तरको डाटा सेन्टर निर्माण गर्ने घोषणा गरेको हो । कम्पनीका अनुसार परियोजनाको उद्देश्य नेपालको डिजिटल पूर्वाधारलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्नुका साथै देशको डाटा सुरक्षा र डिजिटल सार्वभौमिकतालाई मजबुत बनाउनु हो । कम्पनीले नेपाललाई दक्षिण एसियाकै एक महत्वपूर्ण डिजिटल हबका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ ।

यो परियोजनाको नेतृत्व नेपाली उद्यमी नरेन अग्रवाल, मीन अग्रवाल, अनुष अग्रवाल, विशाल कुमार मिठरा र शरद गोयलले गरिरहेका छन् । कम्पनीका अनुसार डाटा सेन्टरले नेपालको डाटा देशभित्रै सुरक्षित राख्ने ‘इन–कन्ट्री डाटा रेसिडेन्सी’ सुनिश्चित गर्नेछ । परियोजनाअन्तर्गत काठमाडौं र दाङमा दुईवटा रणनीतिक साइट निर्माण गरिनेछ । प्रारम्भिक चरणमा २४० किलोवाट क्षमताबाट सुरु हुने डाटा सेन्टरलाई सन् २०३० सम्म ५ मेगावाटसम्म विस्तार गर्ने योजना रहेको छ । कम्पनीले यो डाटा सेन्टर टियर–४ प्रमाणित हुने दाबी गरेको छ । यस्तो स्तरको डाटा सेन्टरले ९९.९९५ प्रतिशत ‘अपटाइम’ सुनिश्चित गर्ने भएकाले बैंकिङ, दूरसञ्चार तथा संवेदनशील क्षेत्रका लागि उच्च विश्वसनीयता प्रदान गर्ने जनाइएको छ ।

प्रविधि र विशेषज्ञताका लागि कम्पनीले भीभीडीएन टेक्नोलोजिज, गुगल क्लाउड, एएमडी र माइक्रोनजस्ता अन्तर्राष्ट्रिय प्रविधि कम्पनीहरूसँग रणनीतिक साझेदारी गरेको जनाएको छ । बिचुटेन डाटा भोल्टका अनुसार परियोजनाले सूचना प्रविधि र इन्जिनियरिङ क्षेत्रमा ठूलो मात्रामा रोजगारी सिर्जना गर्नेछ । साथै भविष्यमा नेपालमै सर्भर, क्यामेरा, ल्यापटप र ट्याब्लेटजस्ता उपकरण उत्पादन गर्ने दीर्घकालीन योजना पनि कम्पनीको रहेको छ । कम्पनीले डाटा सेन्टर पूर्ण रूपमा ऊर्जादक्ष र नवीकरणीय ऊर्जामा आधारित हुने जनाएको छ । यसले दिगो र वातावरणमैत्री प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने विश्वास गरिएको छ ।