खेलकुद

हिमालय स्पोर्ट्सको औपचारिक सुरुवात, नेपालमा फिफा विश्वकप प्रत्यक्ष प्रसारण हुने

२५ वैशाख, काठमाडौं । हिमालय टेलिभिजन नेटवर्कले नयाँ खेलकुद च्यानल ‘हिमालय स्पोर्ट्स’को औपचारिक घोषणा गरेको छ । शुक्रबार राजधानीमा आयोजित विशेष समारोहबीच च्यानल सार्वजनिक गरिएको हो ।

सो अवसरमा हिमालय टेलिभिजनले फिफा विश्वकप २०२६ को विशेष प्रसारण अधिकार प्राप्त गरेको जानकारी पनि दिएको छ । अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने विश्वकप प्रतियोगिता नेपालमा ‘हिमालय स्पोर्ट्स’मार्फत प्रत्यक्ष प्रसारण गरिने भएको छ ।

विश्वकप प्रसारणका लागि हिमालय स्पोर्ट्स र ‘डीगो एप’बीच सहकार्यसम्बन्धी सम्झौता गरिएको छ । नेपालका लागि फिफा विश्वकपको आधिकारिक प्रसारण अधिकार एस प्रो मिडियाले लिएको र सोही कम्पनीमार्फत हिमालय स्पोर्ट्सले नेपाली दर्शकमाझ खेल प्रत्यक्ष देखाउने जनाइएको छ ।

कार्यक्रममा बोल्दै हिमालय टेलिभिजन नेटवर्कका अध्यक्ष धर्मराज भुसालले फिफा विश्वकपजस्तो प्रतिष्ठित प्रतियोगिताको प्रसारण अधिकार प्राप्त गर्नु गौरवको विषय भएको बताए । उनले यस कदमले नेपालमा खेल पत्रकारिता र खेलकुद प्रसारणको क्षेत्रमा नयाँ सम्भावना खोल्ने विश्वास व्यक्त गरे ।

त्यस्तै हिमालय स्पोर्ट्सका प्रमुख कार्यकारी अधिकृत सुरज गिरीले नयाँ च्यानल नेपाली खेलकुद क्षेत्रमा ऐतिहासिक उपलब्धि भएको बताए । उनका अनुसार हिमालय स्पोर्ट्सले अन्तर्राष्ट्रिय स्तरका खेल सामग्री नेपाली दर्शकमाझ पुर्‍याउने लक्ष्य राखेको छ ।