समाचार

‘विधि मिचेर गरिने स्वार्थको राजनीति निरंकुशताको संकेत’ : सपना प्रधान मल्ल

२६ वैशाख, काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र संवैधानिक परम्परालाई कमजोर बनाउने गतिविधिले निरंकुश प्रवृत्तिको संकेत दिने टिप्पणी गरेकी छन् ।

कानुन दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले स्वार्थका लागि कानुनी प्रक्रिया र स्थापित परम्परामाथि हस्तक्षेप गर्नु विधिको शासनविरुद्ध जाने काम भएको बताइन् ।

उनले संरचना भत्काएर परिवर्तनको नाममा व्यक्तिगत वा समूहगत स्वार्थ पूरा गर्न खोज्दा विधिमा विश्वास गर्ने नागरिकको भरोसा टुट्ने चेतावनी दिइन् । सत्ता टिकाउने उद्देश्यले गरिने यस्ता गतिविधिले लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने उनको भनाइ थियो ।

प्रधानन्यायाधीश मल्लले औचित्यको नाममा कानुनमा छेडखानी गर्ने प्रवृत्ति स्वीकार्य हुन नसक्ने स्पष्ट पारिन् । उनले विधिको शासनमा विश्वास गर्ने समाजका लागि स्वेच्छाचारी शैली सह्य नहुने बताउँदै संवैधानिक मूल्य र कानुनी व्यवस्थाको रक्षा गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिइन् ।

उनले विधिको शासनविरुद्ध हुने कुनै पनि षड्यन्त्रको सामना गर्न समाज, राज्य संयन्त्र र जिम्मेवार पक्षले साहस र प्रतिबद्धता देखाउनुपर्ने आवश्यकता औंल्याइन् ।