२६ वैशाख, काठमाडौं । अमेरिका र इरानबीचको तनाव कम गर्ने प्रयासस्वरूप अर्को साता पाकिस्तानको राजधानी इस्लामावादमा फेरि वार्ता हुन सक्ने सम्भावना देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको जवाफ पर्खिरहेको बताएका छन्।
रिपोर्टअनुसार दुवै पक्ष मध्यस्थकर्तामार्फत १४ बुँदे मस्यौदामा काम गरिरहेका छन्। प्रस्तावमा इरानको परमाणु कार्यक्रम, होर्मुज जलसन्धिमा तनाव घटाउने तथा प्रशोधित युरेनियम तेस्रो देश पठाउने विषय समेटिएको छ।
तर इरानले आफ्नो परमाणु कार्यक्रम र उच्च प्रशोधित युरेनियमबारे कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ। विश्लेषकहरूका अनुसार इरान पुरानै अवस्थामा फर्कन चाहँदैन र अमेरिकाबाट थप सहुलियत चाहिरहेको छ।
युद्ध र तनावको असर चीनको ऊर्जा आपूर्तिमा पनि परेको छ। अप्रिलमा चीनको कच्चा तेल आयात २० प्रतिशतले घटेको छ भने होर्मुज क्षेत्रमा तनावका कारण तेल ट्याङ्करको आवागमन प्रभावित भएको बताइएको छ।





