३ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले लोकतान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा फैलिएको इबोला संक्रमणलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।
डीआर कंगोको पूर्वी इटुरी प्रान्तमा फैलिएको संक्रमणबाट हालसम्म करिब २४६ शंकास्पद संक्रमित फेला परेका छन् भने ८० जनाको मृत्यु भएको बताइएको छ। डब्लुएचओले यो अवस्था अझ ठूलो प्रकोपमा बदलिन सक्ने चेतावनी दिएको छ ।
स्वास्थ्य निकायका अनुसार हाल फैलिएको इबोला ‘बुन्डिबुग्यो’ नामक भाइरसका कारण भएको हो, जसविरुद्ध हालसम्म स्वीकृत खोप वा औषधि उपलब्ध छैन ।
संक्रमणका प्रारम्भिक लक्षणमा ज्वरो, शरीर दुख्ने, थकान, टाउको दुख्ने र घाँटी दुख्ने समस्या देखिन्छ । पछि बान्ता, झाडापखाला, शरीरमा दाना तथा रक्तस्राव हुने लक्षण देखापर्ने चिकित्सकहरूले बताएका छन् ।
डब्लुएचओले हालसम्म आठ जनामा प्रयोगशालाबाट संक्रमण पुष्टि भएको जनाएको छ । संक्रमण इटुरी प्रान्तको राजधानी बुनिया तथा सुन खानी क्षेत्र मोंग्वालु र र्वामपारासम्म फैलिएको छ। राजधानी किन्सासामा पनि एक संक्रमित फेला परेको छ ।
संक्रमण छिमेकी युगान्डासम्म फैलिएको पुष्टि भएको छ । त्यहाँ दुई जनामा संक्रमण देखिएको छ भने एक ५९ वर्षीय पुरुषको मृत्यु भइसकेको छ ।
डब्लुएचओले डीआर कंगोमा जारी सुरक्षा संकट, जनआवागमन र कमजोर स्वास्थ्य संरचनाका कारण संक्रमण थप फैलिने जोखिम उच्च रहेको जनाएको छ । प्रभावित क्षेत्रसँग सीमा जोडिएका देशलाई निगरानी प्रणाली कडा बनाउन आग्रह गरिएको छ ।
यद्यपि, डब्लुएचओले सीमा बन्द वा यात्रा तथा व्यापारमा प्रतिबन्ध लगाउन आवश्यक नरहेको स्पष्ट पारेको छ ।





